संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई आर्थिक कूटनीति, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमार्फत थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले सन् १८१६ देखि कायम दुई देशबीचको कूटनीतिक सम्बन्धलाई समयअनुकूल विस्तार गर्ने बताउनुभयो ।
उहाँले नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य बढाउने योजना पनि अघि सार्नुभयो । जबराले बेलायती लगानी र प्रविधिलाई नेपालको विकाससँग जोड्ने, वातावरण संरक्षण तथा हरित अर्थतन्त्रमा साझेदारी गर्ने, बेलायतस्थित नेपाली समुदायलाई विकासको साझेदार बनाउने र संसदीय तथा सार्वजनिक कूटनीति विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।
साथै, ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित विषयलाई पनि गम्भीरतापूर्वक सम्बोधन गर्ने उहाँको योजना रहेको छ । आफ्नो सैनिक अनुभव र रोयल मिलिटरी एकेडेमीमा प्राप्त तालिमले दुई देशबीचको सैन्य सम्बन्धमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जबराले राष्ट्रिय हितको प्रवद्र्धन र संस्थागत निरन्तरतालाई मुख्य लक्ष्य बनाउने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया