संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैन : विश्वप्रकाश शर्मा

9 Shares

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय केवल संसदको गणित वा सत्ता–प्रतिपक्षको स्वार्थमा सिमित हुन नहुने बताउनुभयाे । काठमाडौंको खुलामञ्चमा आयोजित पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्दा सबै वर्ग, समुदाय र विगतका आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै राष्ट्रिय अपनत्व कायम गरिनुपर्नेमा जोड दिनुभएकाे छ ।

उपसभापति शर्माले संविधान कार्यान्वयनको १० वर्ष पुगेको सन्दर्भमा यसको समीक्षा र संशोधन गर्ने सरकारी कदमलाई स्वागत गर्दै सो प्रक्रिया व्यवस्थित र परिपक्व हुनुपर्ने बताउनुभयाे । शर्माले संविधान सभामा प्रतिनिधित्व गरेका तर हाल संसदमा नरहेका राजनीतिक दलहरूलाई पनि संशोधन प्रक्रियामा सहभागी गराउन सरकारसँग आग्रह गरे ।

शर्माले समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अहिलेका युवा पुस्ता (जेन–जी) ले उठाएका विषयहरूलाई समेत संशोधनको दायरामा समेट्न सकिने संकेत गर्नुभयाे । उनले विगतका मधेस आन्दोलन, थारुहट आन्दोलन, दलित समुदाय, जनजाति तथा कर्णाली जस्ता दुर्गम भूगोलले उठाएका र संविधानमा हाल अङ्कित गरिएका अधिकारहरू कुनै पनि हालतमा कुण्ठित हुन नहुने प्रष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘सरकारले संविधान संशोधनलाई व्यवस्थित, परिपक्व र संविधानले परिकल्पना गरेअनुसार अघि बढाउँदै १० वर्षपछिको मूल्याङ्कनका आधारमा प्रक्रिया अगाडि बढाउँछ भने हामी त्यसमा साथ दिन तयार छौँ । तर संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को गणितमा मात्र सीमित हुनुहुँदैन ।

यो समग्र राष्ट्रिय सहमति, अपनत्व र सबै समुदायको भावनालाई समेट्ने विषय बन्नुपर्छ ।’ उपसभापति शर्माले सरकारको उक्त कार्यमा काँग्रेसको साथ रहने भएपनि त्यो प्रक्रिया पारदर्शी र सर्वस्वीकार्य हुनुपर्ने अडान राख्नुभयाे ।