नेपाली कांग्रेसको १५औँ महाधिवेशन: महामन्त्रीमा डा. सुनिल शर्माको चर्चा

15 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि आन्तरिक तयारी र नेताहरूको सक्रियता बढेको छ। वडा तथा पालिका तहका अधिवेशनहरू अघि बढिरहेका बेला केन्द्रीय पदाधिकारीका सम्भावित उम्मेदवारबारे पार्टीभित्र चर्चा सुरु भएको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पछिल्लो विवरणअनुसार वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने पालिका अधिवेशनको प्रक्रिया जारी छ।

सभापतिसँगै महामन्त्री पदलाई महाधिवेशनमा महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिँदै आएको छ। यस पदका लागि कांग्रेस नेता डा. सुनिलकुमार शर्माको नाम पनि चर्चामा आएको छ। शर्मासँगै वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेताहरूको नाम पनि आकांक्षीका रूपमा चर्चामा छ।

२०५४ सालमा कांग्रेसको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका शर्मा १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा सक्रिय रहेका छन् भने, उनी स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय छन्।

विशेष गरी स्वास्थ्य सेवासँग जोडिएका सामाजिक गतिविधिका कारण शर्मा पछिल्लो समय सार्वजनिक रूपमा समेत चर्चामा रहँदै आएका छन्। विभिन्न सामाजिक तथा जनसरोकारका विषयमा सक्रिय रहनुका साथै पार्टीका नेता–कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने शैलीलाई उनको राजनीतिक सक्रियताको एउटा पक्षका रूपमा लिइन्छ।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्वमा पुगेपछि शर्माले सामाजिक गतिविधिलाई थप विस्तार गर्ने प्रयास अघि बढाएका छन्। उनले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि निःशुल्क शल्यक्रियाको पहल गर्ने घोषणा पनि गरेका छन्।

महामन्त्री पद पार्टीको संगठन सञ्चालन, नीति तथा कार्यक्रम कार्यान्वयन र कार्यकर्तासँगको समन्वयका दृष्टिले महत्वपूर्ण मानिन्छ। त्यसैले आगामी महाधिवेशनमा महामन्त्रीका आकांक्षीहरूको सक्रियता र उनीहरूले अघि सार्ने राजनीतिक तथा संगठनात्मक एजेन्डालाई चासोका साथ हेरिएको छ।

यद्यपि, महाधिवेशनको निर्वाचन प्रक्रिया अझै जारी रहेकाले उम्मेदवारी र नेतृत्वको अन्तिम समीकरणबारे अहिले नै स्पष्ट निष्कर्ष निकाल्न सकिने अवस्था छैन। महाधिवेशन प्रतिनिधि छनोट, क्षेत्रीय तथा जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्दा नेतृत्वका आकांक्षी र समीकरणमा परिवर्तन आउन सक्ने देखिन्छ।

कांग्रेसको कार्यतालिकाअनुसार प्रतिनिधि छनोटसहितका विभिन्न तहका अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ।