काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा मात्रै सीमित हुने पुरानो शैली बदलेर जोखिम पहिचान, पूर्वसूचना र पूर्वतयारीलाई प्राथमिकता दिन थालेको छ । पछिल्ला तीन आर्थिक वर्षमा १४ हजारभन्दा बढी विपद्का घटना व्यहोरिसकेको काभ्रेले अब भने क्षति न्यूनीकरणका लागि रणनीति नै बदलेको अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/०८३ सम्म जिल्लामा कुल १४ हजार ३०४ वटा विपद्का घटना भएका थिए । जसमध्ये आव २०८१/८२ मा मात्रै १३ हजार ८७३ भन्दा बढी घटना दर्ता भएका थिए । बाढी, पहिरो र आगलागीबाट ठूलो जनधनको क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारीका कामलाई तीव्रता दिएको हो ।
जिल्लाका १३ वटै स्थानीय तहलाई विपद् जोखिमका आधारमा वर्गीकरण गरिएको छ । जसअनुसार पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती, महाभारत र खानीखोला गरी सात पालिका बाढी तथा पहिरोको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ ।
जोखिमयुक्त क्षेत्रका विवरणलाई डिजिटल ‘विपद् पोर्टल’ मा समावेश गरी लाभग्राही पहिचान र अनुदान वितरणको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । प्रभावित परिवारलाई आवास निर्माणका लागि हालसम्म १२ करोड छ लाख २५ हजार रुपैयाँभन्दा बढी अनुदान हस्तान्तरण भइसकेको उनले उल्लेख गरे ।
विपद् प्रतिकार्यका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी गरी तालिमप्राप्त सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार रोक्ने योजना बनाइएको जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले जानकारी दिए। वर्षाका बेला बिपी राजमार्गमा रात्रिकालीन आवागमन रोक्ने र तटीय क्षेत्रमा सूचना प्रवाह गर्ने काम भइरहेको उनले औँल्याए ।
भौगोलिक विकटता र सीमित स्रोतसाधनका बाबजुद सबै निकायबीच समन्वय गरेर विपद् आउनुअघि नै जोखिम घटाउनेतर्फ रणनीति केन्द्रित गरिएको अधिकारीहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया