गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

65 Shares

जनकपुर । गुठीको नाममा जनकपुरधामका स्थानीयलाई उठीबास लगाउन खोजिएको भन्दै प्रदर्शनकारीहरूले जनकपुरधाममा मसाल जुलुस निकालेका छन् ।
प्रदर्शनकारी सन्तोषकुमार साहले गुठी र सरकारको विरोधमा आन्दोलन शुरु गरिएको बताए ।

नेपालको संविधानले भूमिहीन तथा आर्थिक रूपमा विपन्न नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यलाई दिएको उल्लेख गर्दै उनले जनकपुरमा गुठीको आडमा स्थानीयको घरजग्गा हटाउन खोजिएको आरोप लगाए । साहकाअनुसार काठमाडौँमा ठूलो परिमाणमा गुठीको जग्गा रहे पनि त्यसतर्फ ध्यान नदिई जनकपुरमा मात्रै गुठीको नाममा स्थानीयलाई विस्थापित गर्न खोजिएको छ । यही विषयको विरोधमा मसाल जुलुस निकालिएको उनले बताए ।

‘गुठीको आडमा जनकपुरका नागरिकलाई उठीबास लगाउन खोजिएको’ भन्दै उनले सरकारले घर भत्काउने तथा तोडफोड गर्ने कार्यक्रम तत्काल रोक्नुपर्ने माग गरे । सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलनलाई थप विस्तार गर्ने चेतावनीसमेत साहले दिउ । उनका अनुसार पहिलो चरणमा मसाल जुलुसबाट आन्दोलन सुरु गरिएको हो भने आगामी दिनमा थप कार्यक्रम सार्वजनिक गरिनेछ ।

साहले जनकपुरमा मात्रै सीमित नरहने गरी विभिन्न स्थानबाट नागरिकलाई सहभागी गराएर जनकपुर हुँदै काठमाडौंसम्म आन्दोलन गर्ने तयारी भइरहेको दाबी गरे । उहाँले सरकारलाई आफूहरूको मागप्रति गम्भीर बन्न आग्रहसमेत गरे ।