स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को सेनापुकलाई जोड्ने ४४४ मिटर लम्बाइको उक्त पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्ग १० मिनेटमै आउन सकिने भएको हो । यसअघि सेनापुकबाट त्यहाँ आइपुग्न एक घण्टा लाग्दै आएको थियो ।
सेनापुक लगायत आँधीखोला पारी रहेको बाक्लो बस्तीका नागरिकको सहजतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यो पुल उपयोगी हुने गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत, ब्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनका लागि सहज र सरल भएको छ” उनले भने, “पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ ।”
सडक किनारामै रहेको, अग्लो र लामो झोलुङ्गे पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चलपहलबाट यस क्षेत्रले आर्थिक लाभ लिन सक्ने उनको दावी छ । पुल निर्माण भएपछि कृषि तथा पशुपालनका दृष्टिले उपयुक्त रहेको उक्त स्थानमा संभावनाका ढोका खुल्ने तथा गाउँबाट शहरमा बसाई सर्ने दर पनि घट्ने विश्वास लिइएको छ ।
पुल नहुँदा विद्यार्थी पाँच किलोमिटर पैदल हिँडेर गल्याङका विद्यालयमा पुग्नुपर्ने बाध्यता अब अन्त्य भई दुई किलोमिटरमै सिमित भएको स्थानीय रामप्रसाद अर्यालले बताए ।
“दैनिक बजार, विद्यालय, अस्पताल जान लागि गाउँबाट अटोले ३०० देखि ५०० सम्म लिने गरेको बताउँदै अर्यालले भने, “पुल तर्नासाथै सिद्धार्थ राजमार्ग छ, त्यहाँबाट जतिबेला पनि गाडी पाइन्छ, पहिलाभन्दा सस्तो र छिटो हुने गरेको छ ।”
स–साना विद्यार्थीलाई विद्यालय पठाउन गाउँ नजिकैको खोलाको जोखिमले खोला तार्न अभिभावक जानुपर्ने बाध्यतासमेत पुल निर्माणले अन्त्य गर्दिएको छ । पुल सञ्चालनमा आएपछि गाउँका बहुआयामिक क्षेत्रमा फाइदा पुगेको स्थानीय अर्यालको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया