बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आईतवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध सरकारले कठोर कानून बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदर्शनकारीहरूले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।
उनीहरूले बलात्कारीलाई फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देउ सरकार र हत्यारालाई कडा कानूनी कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया गरिमा चौधरी गत साउन ३१ गते घरबाटै बेपत्ता भएकी थिइन् ।
खोजी गर्ने क्रममा भदौ २ गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानूनी कठघरामा उभ्याउन दबाब दिने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया