बागमती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षारोपण

19 Shares

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानको ६९३औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा रोपिएको छ ।

वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । नदी क्षेत्रको स्वच्छतालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी पाँच फिटभन्दा अग्ला बिरुवा रोपिएको हो ।

आज तिलगङ्गा आँखा अस्पताल अगाडि बागमती नदी किनारमा रोटरी क्लब अफ काठमाडौं हेरिटेजको नेतृत्वमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणसँगै यस क्षेत्रमा सफाइ पनि गरिएको पनि उनले बताए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

महाअभियानबाट प्रभावित भएर वाग्मतीका अन्य सहायक नदीहरूमा पनि सफाइ सुरु भएको छ । चक्रपथका विभिन्न खण्डका, राजधानीका सम्पदा क्षेत्रका साथै उपत्यका बाहिरका मुख्य मुख्य नदी, सहर र सम्पदा क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । राजधानी र राजधानी बाहिर गरेर हाल १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको सफाइ महाअभियानले जनाएको छ ।