तरबुजाको बिउ आयातमा रोक

10 Shares

काठमाडौं । सरकारले तरबुजाको बिउ आयातमा रोक लगाएको छ । आयात अस्वाभाविक रुपमा बढेर तस्करीको आशंका भइरहेका बेला यसको आयातमा रोक लगाइएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सुडानबाट आयात हुने तरबुजाको खाने बिउ आयातमा रोक लगाएको हो ।

केन्द्रले सूचना जारी गरेर आजदेखि अर्को निर्णय नभएसम्मका लागि सुडानबाट आउने तरबुजाको खाने बिउ आयातका लागि नयाँ प्रवेश अनुमतिपत्र जारी नगर्न सबै क्वारेन्टिन कार्यालयलाई निर्देशन दिएको हो । केन्द्रले भदौ ४ मा नै सबै क्वारेन्टिन कार्यालयका प्रमुखलाई पत्र काट्दै उक्त निर्देशन दिएको हो ।

केन्द्रका अनुसार सुडानबाट चलानी भएका तरबुजाको बिउको खेपसँगै आउने ‘बिरुवा स्वस्थताको प्रमाणपत्र’ मा केही विषय शंकास्पद देखिएकाले त्यसमा थप परीक्षण, प्रमाणीकरण र जोखिम विश्लेषण गरी सुडानको बिरुवा संरक्षण संगठनसँग समझदारी गरिने छ ।

यही कारण अर्को निर्णय नहुँदासम्म राष्ट्रिय बिरुवा संरक्षण संगठनले नयाँ अनुमतिपत्र रोक्ने निर्णय गरेको हो ।