विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा तस्बिर प्रदर्शनी

11 Shares

१८७ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ । बुधबार राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटोपत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो  प्रदर्शनीमा ‘ब्युटिफूल बङ्गलादेश’ शिर्षकका तस्बिरहरूका साथै नेपाली फोटोपत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका त्यहाँका विभिन्न आकर्षक र सुन्दर दृश्यहरू समावेश गरिएका छन् ।

नेपाल, बङ्गलादेश र चीनबीचको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित यस प्रदर्शनीले तीन देशबीचको सांस्कृतिक आदानप्रदान, फोटो पत्रकारिताको विकास तथा आपसी भाइचारा र सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास लिइएको छ । काठमाडौंको ऐतिहासिक क्षेत्र हनुमानढोकामा आयोजना गरिएको यस प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो ।