केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक

12 Shares

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वास्तविक अवस्था जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ । 
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधवार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गर्नुभएको हो । एपमार्फत जीपीएस जडान गरिएका सार्वजनिक सवारी साधनको स्थान तथा यात्रुले पर्खिरहेको स्थानमा सवारी पुग्न लाग्ने समयबारे जानकारी लिन सकिनेछ । एपमा हालसम्म एक हजार दुई सय सवारीसाधन जोडिएका छन् ।

बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । यातयात क्षेत्रको सुधार गर्न साझा पहल र वित्तीय साझेदारी आवश्यक रहेको उहाँको भनाई छ । यातायात क्षेत्रको सुधार कुनै एक पालिका वा स्थानीय तहले मात्र गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पाईलटिङका रुपमा शुरु गरेको रात्रीकालिन बस सेवा सफल भएको उल्लेख गर्दै सेवाको विस्तार आवश्यक रहेको बताउनु भयो । उपत्यकाका चार वटा स्थानिय तहलाई समेट्ने गरी रुट तयार पारेर वैशाख १ गतेदेखि रात्री बस सेवा सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिका छुने गरी पाइलट रुट सञ्चालन गरिएको थियो । उहाँकाअनुसार रात्री बसमा हरेक महिना २२ हजारदेखि २५ हजारसम्म यात्रुले सेवा लिइरहेका छन् । जेठ महिनामा मात्रै २८ हजार यात्रुले रात्री बस सेवा प्रयोग गरेको उहाँले बताउनु भयो । रात्री बस सेवा विशेषगरी श्रमिक वर्गका लागि आवश्यक देखिएको उहाँको भनाइ छ । उहाँले रात्री बसका रुट थप विस्तार गर्न साझा यातायातसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । विद्यार्थीलाई लक्षित गर्दै बिहानको समयमा पनि थप छिटो सार्वजनिक सवारी सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले यातयात क्षेत्रलाई व्यवस्थित बनाउनको लागी ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालन ल्याएको पनि जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक यातायात सेवा विस्तारका लागि साझा यातायातसँगै अन्य यातायात व्यवसायी तथा सेवा प्रदायकसँग पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उपत्यकाका सबै स्थानीय तहले आफ्नो क्षमताअनुसार वित्तीय साझेदारी गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्नुपर्ने उहाँको जोड थियो । परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहजता महसुस गर्ने गरी यातायात प्रणाली सुधार गर्नुपर्ने बताउनु भयो । बैठकले चालु आर्थिक वर्षका लागि बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका शर्त र सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य शुरु गर्ने निर्णय गरेको छ ।

mishra.jpgत्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बस पार्कमा जीपीएस ट्रयाकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम बैठकले स्वीकृत गरेको छ । यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।