प्रधानमन्त्री शाहसँग भारतीय सेना प्रमुख सेठले आज शिष्टाचार भेटवार्ता गर्दै

25 Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार नेपाल भ्रमणमा रहनुभएका भारतीय सेना प्रमुख धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुहुने भएकाे छ।

आइतबार नेपाल आउनुभएका प्रधनसेनापति सेठले मंगलबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्न लाग्नुभएको हो । भेटका अवसरमा नेपाल भारत मैत्रि सम्बन्ध र द्धिपक्षीय आपसी हितका विषयमा छलफल हुने जनाइएकाे छ। भारतको प्रधानसेनापति नियुक्त भएपछि सेठले नेपालबाट आफ्नो विदेश भ्रमण थाल्नुभएको हो । नेपालमा पनि शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने सेठ भारतको अहिलेसम्मकै उच्च अधिकारी हुनुहुन्छ ।

भारतीय सेनाका प्रमुख जनरल सेठलाई साेमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियाे । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । सन् १९५० देखि नेपाल र भारतबीच एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्न शुरु गरिएको हो ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको ३ दिने भ्रमणमा आउनु भएका सेठले साेमबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुभएको थियो । प्रधान सेनापति सिग्देलसंगको शिष्टाचार भेटपछि भारतीय सेना प्रमुख सेठले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हाे।