काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको जारी केन्द्रीय समिति बैठकलाई आज विशेष सम्बोधन गर्दैछन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विगत एक सातादेखि जारी बैठकमा सभापति थापाले आज अपराह्न ४ बजे आफ्नो धारणा राख्न लागेका हुन्।आजको सम्बोधनका क्रममा सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफूविरुद्ध उठाइएका विभिन्न प्रश्न र आलोचनाको जवाफ दिने नेताहरूले बताएका छन्। देउवा पक्षका नेताहरूको तीन दिने भेलामा सभापति थापा लक्षित टिप्पणीहरू गरिएका थिए। हिजो एक कार्यक्रममा बोल्दै सभापति थापाले देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारहरूलाई बोलाएर एक घण्टा लामो जवाफ दिने घोषणा गरेका थिए। सोही क्रममा उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको टिप्पणी समेत गरेका थिए। पार्टीको आन्तरिक टसल र आगामी कार्यदिशाका विषयमा सभापति थापाले पत्रकारहरूकै अगाडि दिन लागेको यो जवाफलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया