युट्युबबाट पैसा कमाउन कठिन हुँदै, ८ हजार वाच आवर वा २ करोड शर्ट्स भ्युज आवश्यक

17 Shares

काठमाडौं । युट्युबले आफ्नो ‘युट्युब पार्टनर प्रोग्राम’ मा व्यापक परिवर्तन गर्दै नयाँ क्रिएटरका लागि मापदण्ड पहिलेभन्दा दोब्बर बनाएको छ । आगामी फेब्रुअरी १, २०२७ देखि लागु हुने नयाँ नियमअनुसार विज्ञापन र प्रिमियम आम्दानीका लागि नयाँ क्रिएटरहरूले पहिलेभन्दा दोब्बर मापदण्ड पूरा गर्नुपर्नेछ ।

यसअन्तर्गत लामो भिडिओमा आधारित च्यानलहरूले पार्टनर प्रोग्राममा सहभागी हुन पछिल्लो ३६५ दिनमा ८,००० घण्टा क्वालिफाइड वाच टाइम पुर्‍याउनुपर्नेछ, जुन यसअघि ४,००० घण्टा मात्र थियो ।

त्यसैगरी, युट्युब शर्ट्स बनाउनेहरूका लागि ९० दिनमा १० मिलियन भ्युजको सट्टा अब २० मिलियन भ्युज आवश्यक पर्ने भएको छ । यद्यपि, पहिले नै यो कार्यक्रममा आवद्ध भइसकेका ३० लाखभन्दा बढी क्रिएटरहरूलाई भने यो नयाँ प्रवेश नियमले कुनै असर गर्ने छैन ।

शर्ट्स भिडिओबाट विज्ञापनको आम्दानी र प्रिमियम रेभिन्यु शेयरिङ निरन्तर प्राप्त गर्नका लागि युट्युबलेनयाँ सर्त पनि अघि सारेको छ ।

यसअन्तर्गत, च्यानलले शर्ट्स विज्ञापनबाट आम्दानी जारी राख्न पछिल्लो ९० दिनको अवधिमा कम्तीमा १० मिलियन भ्युज प्राप्त गरिरहनुपर्नेछ । यदि कुनै च्यानलको कार्यसम्पादन यो सीमाभन्दा तल झरेमा शर्ट्सबाट हुने आम्दानी अस्थायी रूपमा रोकिनेछ । तर च्यानलले पुनः १० मिलियनको सीमा कटाएपछि आम्दानी स्वतः सुरु हुनेछ ।

एक करोडभन्दा कम भ्युज भएका साना च्यानलहरूलाई प्रोत्साहन गर्न युट्युबले बोनस, ब्रान्ड डिल, शपिङ फिचरजस्ता नयाँ विकल्प ल्याउने भएको छ ।

यसैगरी युट्युबले आफ्नो ‘युट्युब प्रिमियम लाइट’ सेवालाई पनि विश्वव्यापी रूपमा विस्तार गर्दै विज्ञापनरहित भिडिओ हेर्ने प्रयोगकर्ताहरूबाट हुने आम्दानीको निश्चित हिस्सा क्रिएटरहरूलाई बाँड्ने नीति लिएको छ ।

प्रिमियम र प्रिमियम लाइटबाट प्राप्त हुने आम्दानीको निश्चित प्रतिशत (क्रमशः ३०% र ६०%) एउटा विशेष कोष (इन्सेन्टिभ फन्ड्स)मा जम्मा गरिनेछ भने क्रिएटरहरूलाई उनीहरूको भिडिओ हेरिएको समयका आधारमा लामो भिडिओका लागि ५५ प्रतिशत र शर्ट्सका लागि ४५ प्रतिशत रकम वितरण गरिनेछ ।

युट्युबको दाबी अनुसार विज्ञापन हेर्ने साधारण प्रयोगकर्ताको तुलनामा प्रिमियम ग्राहकहरूबाट क्रिएटरले औसतमा बढी कमाउने गरेका छन् ।

सन् २०१८ पछि गरिएको यो सबैभन्दा ठुलो फेरबदल सक्रिय क्रिएटरहरूलाई थप लाभ पुर्‍याउन र क्रिएटरको अर्थतन्त्रलाई दिगो बनाउन ल्याइएको युट्युबले जनाएको छ ।

यी परिवर्तनका बाबजुद युट्युबले आगामी सन् २०२७ मा क्रिएटरहरूलाई सन् २०२६ को तुलनामा अझ बढी रकम भुक्तानी गर्ने प्रक्षेपण गरेको छ । कार्यक्रममा सहभागी सबै क्रिएटरहरूले आगामी वर्ष फेब्रुअरी १ सम्ममा युट्युब स्टुडियोमार्फत यी नयाँ सर्त र नियमहरूलाई रिभ्यु गरी साइन गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।