काठमाडौं । बुद्धिजीवी भावुक न्यौपानेले नेपाली काँग्रेसभित्र देखिएको विवाद पार्टीको सैद्धान्तिक विषयभन्दा नेताहरूको व्यक्तिगत चरित्रमा केन्द्रित भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले नेताहरूले पार्टीको सिद्धान्त, राष्ट्रियता, लोकतन्त्रको विषयमा बहस गर्नुपर्ने आवश्यकतालाई नजरअन्दाज गरेर व्यक्ति विशेषलाई दोषारोपण गर्दै बसेको टिप्पणी गरे ।
नेताहरूको बोली र व्यवहार एउटै नहुँदासम्म पार्टीभित्र देखिएको समस्याको हल हुन नसक्ने उनको भनाइ छ । उनले पार्टीको विगतको समीक्षा गर्ने र भविष्यमा कस्तो भूमिका खेल्ने भन्नेबारे कार्य योजना बनाउनुपर्नेमा जोड दिए । कम्युनिस्ट दलहरूसँग गठबन्धन गरेर सरकारमा सहभागी हुन थालेदेखि नै काँग्रेसको क्षयीकरण सुरु भएको उनले टिप्पणी गरे ।
उनले भने, ‘अहिले हामीहरू पार्टीको सैद्धान्तिक कुरा छोडेर व्यक्तिगत चरित्रमा रुमल्लिइरहेका छौँ । सैद्धान्तिक र पार्टीगत, देश र जनताको लागि पार्टी हो व्यक्तिगत कमाइ गर्न आएको भन्ने होइन । त्यस कारणले हामी अरू पार्टीभन्दा फरक छौँ । प्रजातन्त्रको प्रवर्द्धन एवं संरक्षण नेपाली काँग्रेसबाट मात्र सम्भव छ, यो यो कारणले काँग्रेसबाट सम्भव छ ।’
उनले अगाडि भने, ‘राष्ट्रियताको सवालमा काँग्रेसले कस्तो भूमिका खेल्न सक्छ ? यी कुरा छाडेर हामी भन्ने एउटा गर्ने अर्कै अर्थात् बोली र व्यवहारको भिन्नताले पनि समस्या परेको हो । उहाँहरूको बाहिर देख्ने बोली र भित्र कोठामा बोल्ने बोलीमा निकै फरक छ । जबसम्म हामीले बोली र व्यवहार एउटै बनाउन सक्दैनौँ तबसम्म यो सम्भव छैन ।’
न्यौपानेले भागबन्डाको आधारमा नभई पार्टीको सैद्धान्तिक आधारको विषयमा समीक्षा गरेर पार्टीमा उत्पन्न सबै प्रकारका समस्याको हल गर्नुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया