काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ १ गते उम्मेदवार क्लब खोल्ने भएको छ । महामन्त्री विपिन कुमार आचार्यका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेदवार क्लब खोल्न लागिएको हो । ‘भाद्र १ गते पार्टीले क्यान्डिडेट क्लब खोल्दैछ । त्यो भनेको देशभरका ३५ हजार ५०१ जना प्लस स्थानीय तहका उम्मेदवार छान्ने डकुमेन्ट हो,’ महामन्त्री आचार्यले हिमालय टिभीसँगको अन्तवार्ताको क्रममा भने । रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाएको हो । उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् । २०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । त्यसलाई त्यसपछाडिका पार्टीका डकुमेन्टहरूमा राख्दै आएको छ । नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ । उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो । उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नुपर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया