काठमाडौं । सङ्घीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले आफूमा परेका विभिन्न उजुरीहरूमाथि आजबाट छानबिन तथा छलफल प्रक्रिया अगाडि बढाउने भएको छ। आज दिउँसो २ बजे बस्ने समितिको पूर्ण बैठकले उजुरीहरूलाई एजेन्डामा राखेर छलफल सुरु गर्न लागेको हो।
समितिमा परेका उजुरीहरूलाई प्राथमिकताको आधारमा अध्ययन गर्ने र तीमध्ये कुन–कुन विषय समितिको अधिकार क्षेत्रभित्र पर्छन् भन्ने निर्क्योल गरी छलफल अगाडि बढाइने समितिका सभापति भरत खड्काले जानकारी दिए ।
कसरी बढ्छ छानबिन प्रक्रिया ?
सभापति खड्काका अनुसार उजुरीहरु माथिको कारबाही उपसमितिबाट नभई पूर्ण बैठक बाटै हुनेछ। यसअघि बेरुजु फर्स्यौटका लागि मात्र ५ वटा उपसमितिहरू गठन गरिएको र उनीहरूले सोही निश्चित उद्देश्यमा मात्र काम गर्ने भएकोले उजुरी छानबिनको काम पूर्ण बैठकले नै गर्नेछ ।
पूर्ण बैठकमा उजुरीमाथि छलफल भई छानबिनका लागि निर्णय भएपछि प्रक्रियाअनुसार अगाडि बढ्नेछ । यस अन्तर्गत सम्बन्धित निकायलाई बोलाएर छलफल गरिनेछ, विभागीय मन्त्रीसँग आवश्यकता अनुसार जवाफ मागिनेछ र आवश्यक डकुमेन्टहरू माग गरी अध्ययन गर्ने काम उनले बताए ।
कागजात अध्ययन र छलफलपछि उजुरीको प्रकृति हेरेर त्यसमा थप गहिरो छानबिन गर्नुपर्ने हो वा सम्बन्धित निकायलाई सिधै सुझाव वा निर्देशन दिने कि थप अध्ययनका लागि उपसमिति गठन गर्ने भन्ने निर्णय त्यसपछि मात्रै हुनेछ ।
समितिमा धेरै विषय वस्तुहरु रहेकाले अब एक एक दिन बिराएर पर्याप्त समय लिएर क्रमिक रूपमा छलफल अगाडि बढाइने खड्काले बताए । अहिले बेरुजु फर्छ्यौट उपसमितिमा बैठकहरू निरन्तर बसिरहेका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार रहेको अवस्थामा सोही दलका सभापति रहेको समितिमा उजुरीको सङ्ख्या नगन्य छ । यसको सट्टा प्रमुख प्रतिपक्षीको नेतृत्व रहेको सार्वजनिक लेखा समितिमा भने उल्लेख्य सङ्ख्यामा उजुरी परेको देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया