भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल

15 Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले वीपी कोईरालाको समयमा जस्तै काँग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताउनुभएको हो ।

महामन्त्री पौडेलले वीपी कोईरालाको नेतृत्वमा काँग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गर्नुभयो । परिवर्तित परिस्थितिमा काँग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

महामन्त्री पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिनुभयो । प्रविधिको प्रयोगका कारण केही प्राविधिक कठिनाइ भएपनि ८० प्रतिशतभन्दा बढी सदस्यले डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गरिसकेको उहाँले बताउनुभयो । अब हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुने र उनीहरूले आफ्नो विवरण आफैँ परिमार्जन गर्नसक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसले पार्टीभित्र पारदर्शिता कायम गर्न र नेतृत्वसँग सदस्यहरूको सीधा संवाद स्थापित गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न काँग्रेसले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचनको अवधारणा ल्याउन लागेको पौडेलले जानकारी दिनुभयो ।

प्रविधिको प्रयोग गरी डिजिटल भोटिङमार्फत उम्मेदवार छानिने पद्धति विकास गरिने उहाँले बताउनु भयो । महामन्त्री पौडेलले भन्नुभयो, ‘वीपी कोईरालाको नेतृत्वमा नेपाली काँग्रेस समाजका सबै मुद्दाप्रति स्पष्ट थियो । काँग्रेस केवल राजनीतिक दल मात्र नभई विभेदविरुद्ध, महिला, दलित, मधेसी, भूमिहीन, सुकुम्बासी, किसान र गरिब जनताको अधिकारका पक्षमा उभिएको आन्दोलन पनि थियो । उहाँले जनताका मुद्दालाई पार्टीको एजेन्डासँग प्रभावकारी रूपमा जोड्नुभएको थियो । आज हामीले आत्मसमीक्षा गर्नुपर्छ–के हामीले अहिले पनि जनताका वास्तविक समस्या र भुइँमान्छेका मुद्दालाई त्यही गम्भीरताका साथ पार्टीको एजेण्डामा समेट्न सकेका छौँ ? समय परिवर्तन भएको छ, चुनौती र प्राथमिकता पनि बदलिएका छन् । त्यसैले हाम्रो सोच, संकल्प र अभियान पनि समयअनुकूल हुनुपर्छ ।

वीपी कोईरालाबाट प्रेरणा लिँदै, विगतका अनुभव र कमजोरीबाट सिकेर नेपाली काँग्रेसलाई जनताको पार्टीका रूपमा अझ सशक्त र समावेशी ढंगले अघि बढाउनु आजको आवश्यकता हो ।’ पार्टीमा युवाहरूको आकर्षण बढाउन ३० र ३५ वर्षमुनिका युवाहरूलाई विभिन्न तहमा अनिवार्य प्रतिनिधित्व गराउने विधानको व्यवस्थालाई कडाइका साथ लागू गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।