एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ५ सय ८९ जना पुगेको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार राति भूकम्पमा परी २ हजार ९ सय ८० जना मानिस घाइते भएकाे जानकारी गराउनुभएकाे हाे । बुधबार राति गएका ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्यूडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो । प्रभावित क्षेत्रमा अहिलेसम्म १ सय भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका हुन् ।
स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महशुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महशुस भयो बताएकाे बीबीसीले जनाएको हाे । घरमा क्षति पुगेपछि अधिकांश नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार, राहत र खाेजी कार्यका साथै क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको बीबीसीले जनाएको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया