एजेन्सी । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जना घाइते भएका छन्।
जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले जारी गरेको विज्ञप्तिअनुसार भूकम्प इवाटे प्रान्तको प्रशान्त महासागरीय तटमा ४४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो।
हासिकामी र हाचिनोहे क्षेत्रका स्थानीय अग्निशमन विभागका अनुसार भूकम्पबाट घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरूको अवस्था गम्भीर नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
भूकम्पपछि प्रभावित क्षेत्रमा केही समय त्रास फैलिएको भए पनि हालसम्म ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भएको छैन। अधिकारीहरूले भवन, सडक तथा अन्य पूर्वाधारको निरीक्षण गरिरहेका छन्।
जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक भएकाले त्यहाँ उच्चस्तरको भूकम्पीय सुरक्षा प्रणाली लागू गरिएको छ। सम्बन्धित निकायले स्थानीय बासिन्दालाई सम्भावित पराकम्पनप्रति सतर्क रहन आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया