भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी ३२ जनाको मृत्यु, ७ सय घाइते

10 Shares

एजेन्सी । भेनेजुएलामा बुधबार राति गएकाे शक्तिशाली भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले भूकम्पमा परी ७ सय जना घाइते भएको जानकारी गराउनुभएकाे हाे। उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभएकाे छ। देशका विभिन्न क्षेत्रमा ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्यूडका दुई शक्तिशाली भूकम्प गएपछि दर्जनौं भवनहरू भत्किएका हुन् । कार्यवाहक राष्ट्रपति रोड्रिग्जले आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएकाे बताउनुभयाे ।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जले ला गुआइरा राज्य सबै भन्दा बढी प्रभावित भएको बताउनुभएकाे छ । उहाँले उक्त क्षेत्रले गम्भीर मानवीय संकटको सामना गररिहेको बताउनुभयाे । उहाँले अधिकांश भवनहरू ध्वस्त भएकाे र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएकाे जानकारी गराउनुभएकाे छ ।

रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयाे। उहाँले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभएकाे छ। सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको हाे ।

क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको कार्यवाहक राष्ट्रपति रोड्रिग्जले बताउनुभएकाे छ।