काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सीमित नराखी देशको भविष्य दिशा निर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
चितवनमा सञ्चालित पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै उनले विगतको उपलब्धिलाई प्रशंसामा मात्र सीमित नगरी परिणाममा बदल्नुपर्नेमा जोड दिएका हुन् ।
सभापति लामिछानेले विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका व्यक्तिहरूको एकताबाट रास्वपा निर्माण भएको चर्चा गर्दै हिजोको जनलहरलाई अब वैज्ञानिकता र ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । विश्व राजनीतिक इतिहासमा पहिलो महाधिवेशन अगावै सरकारमा सहभागी हुने अवसर पाउनु विरलै हुने घटना भएको उल्लेख गर्दै उनले अब पार्टीसामु दुई वटा विकल्प रहेको स्पष्ट पारे ।
उनकाअनुसार पहिलो विकल्प उपलब्धिलाई लिएर खुसी मनाउने मात्र हो भने दोस्रो विकल्प यसलाई सार्थक परिणाममा बदल्ने हो । उनले फरक परिणाम प्राप्त गर्न पुरानो कार्यशैली र चरित्र त्यागेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेतृत्व चयनका सन्दर्भमा प्रतिनिधिहरूलाई सचेत गराउँदै सभापति लामिछानेले कसैको दबाब वा प्रभावमा नपरी स्वविवेक प्रयोग गर्न आग्रह गरे ।
पार्टीभित्र मन्त्री चयन वा जिम्मेवारी बाँडफाँटका विषयमा बाहिर आएका चर्चाको खण्डन गर्दै उनले यसबारे हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको स्पष्ट पारे । सबै प्रतिनिधिहरू नेतृत्वका लागि योग्य रहेको र कसैलाई मतदान गर्न पार्टीले कुनै प्रकारको उर्दी जारी नगरेको उनको भनाइ थियो ।
उनले भने ‘हामीले देखेको सपनालाई वास्तविकतामा ढाल्ने यो महाधिवेशन हाम्रो राजनीतिक जीवन र देशको भविष्यका लागि एउटा महान् अवसर हो । प्रतिनिधि हुनु भनेको कसैले भनिदिएका भरमा भोट हाल्ने लालमोहर वा औँठाछाप बन्नु होइन । हामी पुरानो प्रवृत्तिविरुद्ध विद्रोह गरेर यहाँ आएका हौँ, त्यसैले तपाईँहरू देश र पार्टीप्रति उत्तरदायी बन्नुपर्छ ।’
सम्बोधनका क्रममा लामिछानेले आफूलाई यस प्रक्रियामा एक ‘पर्यवेक्षक’का रूपमा मात्र राखेको बताउँदै जसले जिते पनि उनीहरू आफ्नै परिवारको सदस्य हुने विश्वास व्यक्त गरे । उनले कार्यकर्ताको त्याग र मेहनतको उच्च कदर गर्दै विवेकपूर्ण ढङ्गले सक्षम नेतृत्व छनोट गरी पार्टीलाई थप शक्तिशाली बनाउन अपिल समेत गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया