काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार पौडेलमाथि विवादास्पद व्यवसायीसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।
उनीमाथि नीतिगत निर्णयको प्रयोगमार्फत केही व्यवसायीलाई लाभ पुर्याएको र त्यसबाट प्राप्त रकम विभिन्न व्यक्तिको नाममा सम्पत्ति खरिदमा प्रयोग भएको दाबी गरिएको छ ।
केही व्यवसायी तथा बिचौलियासँगको सहकार्यमा सम्पत्ति आर्जनको जालो फैलाइएको आरोपसमेत स्रोतहरूले लगाएका छन् । विवादस्पद व्यवसायी दीपक भट्टलगायतका व्यवसायीलाई लाभ पुर्याएको र अन्य व्यक्तिहरूसँग मिलेर पौडेलले सम्पत्ति जोडेको बताइन्छ ।
पौडेलले आफू अर्थमन्त्री हुँदा नीतिगत निर्णय गरेरै भ्रष्टाचार गरेको आरोप छ । उनले आफैँले नीतिगत निर्णय गरेर आफ्ना आफन्तको नाममा समेत सम्पत्ति खरिद गर्ने र गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्तिलाई आफन्तको नाममा गर्ने सम्मको कार्य गरेको भेटिएको स्रोतले बतायो ।
पौडेलले आफू अर्थमन्त्री हुँदा दीपक भट्टसहितका विवादास्पद व्यवसायीलाई नीतिगत निर्णय गरेर लाभ पुर्याउने गर्थे । त्यसबापत प्राप्त अवैध आम्दानीलाई उनले आफन्तको नाममा विभिन्न ठाउँमा जग्गा किन्ने गरेको प्रमाण भेटिएको स्रोत बताउँछ ।
बुटवलका एक गाई पालक किसानका नाममा पौडेलले सम्पत्ति जोड्ने काम गरेको समेत खुलेको छ । उनले व्यवसायी, किसान र बिचौलियासँग मिलेर अवैध कामको जालो फैलाएको बताइन्छ ।
विभिन्न समयमा अवैधरुपमा कमाएको सम्पत्तिबाट पौडेलले बिचौलियालाई पोस्ने काम गरेको आरोप पनि छ । पौडेलकै योजनामा व्यवसायी, गाई पालक किसान मिलेर होटेल समेत सञ्चालन गर्ने योजनामा रहेका थिए ।
केही समय अघिसम्म खासै सम्पत्ति नरहेका बुटवलका ती गाई पालक किसानले पौडेलसँग सम्बन्ध बनाएपछि भने उनको सम्पत्ति बढेको स्रोतले बतायो । पौडेल अर्थमन्त्री हुँदा उनको पहुँच सिंहदरबार र बालुवाटारसम्मै रहेको स्रोत बताउँछ ।
पौडेल आफैले पैसा र सम्पत्ति नजोडे पनि अन्य व्यक्तिलाई नीतिगत लाभ पुग्ने निर्णय गराइदिएर त्यसवाफत् लाभ लिने गरेका थिए । सम्पत्ति अरूको भए पनि त्यसमा पौडेलले नै लाभ लिने गरेका थिए ।
पौडेलले रुपन्देही क्षेत्रका व्यवसायीलाई साथमा लिएर दीपक भट्टसहितका व्यापारीमार्फत सम्पत्ति आर्जन गरेको बताइन्छ । भैरहवा क्षेत्र आसपासमा केही व्यवसायीहरूले बर्षौंदेखि सञ्चालन गरेको कम्पनीमा पनि दीपक भट्टलाई जोड्ने काम उनै पौडेलले गरेका थिए । त्यसबापत पनि पौडेलले लाभ लिएको स्रोत बताउँछ ।
दीपक भट्ट र विष्णु पौडेलको राम्रै सम्बन्ध रहेको प्रमाण भेटिएका छन् । सरकार ढाल्ने र बनाउनेसम्मको शक्ति बनाएका दीपक भट्टको योजनामा नै पौडेल चल्ने गरेको बताइन्छ ।
पछिल्लो पटक भट्टकै दबाबमा केपी ओलीले आफ्नो क्याबिनेटमा पौडेललाई अर्थमन्त्री बनाएका थिए । २०७९ पुसमा बनेको सरकारमा एमाले–माओवादीबिचको सम्झौता पनि भट्टले नै गराएको दाबी विभिन्न सञ्चार माध्यमले गर्ने गरेका छन् ।
सरकार ढाल्ने र बनाउने खेलमा समेत दीपक भट्टको भूमिका मुख्य हुन्थ्यो । उनी राजनीतिक मान्छे नभए पनि एमाले, माओवादी र काँग्रेसलाई आफ्नो पकडमा राख्ने गर्दथे ।
उनकै कारण बारम्बार सरकार ढल्ने र बन्ने काम भइरहन्थ्यो । जसको मुख्य कारक थिए बिचौलिया भट्ट । उनै भट्टसँगको हिमचिमले अन्ततः एमाले उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ परे ।
भट्ट यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै व्यवसायी सुलभ अग्रवाल पनि पुर्पक्षका लागि थुनामा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया