काठमाडाैं। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजनाको शुरुङमा पानी भर्ने काम शुरु गरिएकाे छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सीमानामा पर्ने बाँधबाट पिप्लेकाे तेस्रो अडिटसम्मको मुख्य सुरुङमा आइतबारदेखि पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्ने क्रम जारी रहेको बताउनुभयाे । उहाँले ६ किलोमिटर दुई सय ७० मिटर मुख्य शुरुङमा पानी भर्न थालिएको बताउनुभएकाे छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको हाे । भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उहाँले बताउनुभएकाे छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पटक-पटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको घुगङ्गा हाइड्रो लिमिटेडले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया