काठमाडाैं । मधेश प्रदेशले यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
वीरेन्द्रनगरस्थित कालुनचोक क्रिकेट मैदानमा साेमबार राति भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा पराजित गर्दै मधेश च्याम्पियन बनेको हो । निर्धारित खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा सुदूरपश्चिमले मधेशलाई १६ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिमका लागि जयन्ती भण्डारीले चार बलमा १० रन तथा करुणा विष्टले एक बलमा दुई रन जोडेका थिए । टोलीले दुई अतिरिक्त रन पनि प्राप्त गरेको थियो ।
जवाफमा मधेशकी साना प्रभिनले उत्कृष्ट ब्याटिङ गर्दै पाँच बलमा तीन चौकासहित १५ रन बनाएकी हुन् । मधेशले लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा गराएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२९ रन बनाएको थियो । मधेशले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाउँदै १ सय २९ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो ।
प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि सुपर ओभरमा मधेशले दबाब झेल्दै जित निकाल्न सफल भयो । याेसँगै मधेश प्रदेश यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८३ को उपाधि जित्न सफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया