काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।
आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकपछि बिहीवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले यस्तो जानकारी दिएका हुन् ।
प्रमुख सचेतक थापाले विगतमा भौतिक पूर्वाधारमा बढी केन्द्रित हुने परम्परा रहेको उल्लेख गर्दै यसपटकको बजेटले आम नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने काँग्रेसको आधिकारिक धारणा रहेको स्पष्ट पारेका छन् ।
संसदीय दलको बैठकमा संसद्मा पार्टीको भुमिका र आगामी रणनीतिका बारेमा समेत गम्भीर छलफल भएको थियो । सरकारले संसद्मा प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको र प्रधानमन्त्रीले जननिर्वाचित प्रतिनिधिले सोधेका प्रश्नहरूको जवाफ नदिएको भन्दै थापाले आपत्ति जनाए ।
राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन र त्यसमा विभिन्न राजनीतिक दलका नेताहरूको नाम मुछिएको प्रसङ्गमा बोल्दै थापाले कानूनभन्दा माथि कोही नहुने बताए।
उनले भने, कानून सम्मत जोसुकैमाथि कारबाही हुन्छ भने काँग्रेसले त्यसलाई स्वीकार गर्छ । तर तथ्य र सत्य पत्ता लगाएर मात्र अगाडि बढ्नुपर्छ । पहिले समात्ने र त्यसपछि अनुसन्धान गर्ने मिडिया ट्रायलको प्रवृत्ति भने बन्द हुनुपर्छ ।’
संसदीय दलको बैठकले दलभित्रका रिक्त पदहरूलाई पूर्णता दिने र विषयगत समितिहरूमा सांसदहरूको भुमिकालाई थप प्रभावकारी बनाउन संयोजकहरू तोक्ने निर्णय गरेको छ । पार्टीभित्र देखिएका केही असन्तुष्टिहरू पार्टीको आन्तरिक मामिला भएको र संसदीय दलमा सबै सदस्यहरू एकजुट भएर जनताका मुद्दा उठाउन लागिपरेको थापाको दाबी छ
फेसबुकबाट तपाईको प्रतिक्रिया