नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन : नेता आङदेम्बे

31 Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको उहाँको तर्क छ । नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताउनुभयो ।

नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पु¥याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाउनु भयो । उहाँले सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याउनुभयो ।

नीति तथा कार्यक्रममा ‘मोबाइल’ जस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको सोच अझै पनि भुइँतहका नागरिकसम्म पुग्न नसकेको देखिने उहाँको भनाइ थियो । दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन र गरिब जनताको पहुँचसम्म पु¥याउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उहाँले आगामी बजेटमार्फत यस्ता त्रुटिहरू सच्याउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिपक्षको भुमिकाबारे स्पष्ट पार्दै नेता आङदेम्बेले नेपाली काँग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्यको नियतमाथि शंका नगरे पनि कार्यशैली र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।