काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ ।
बल्खु र थापाथलीस्थित सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्या घटनाको निष्पक्ष र विस्तृत छानबिनको माग गर्दै निवेदन दर्ता गरिएको संगठनका प्रवक्ता विजय शाहले जानकारी दिएका छन् ।
उनका अनुसार डोजर अभियानका क्रममा उत्पन्न मानसिक तनावका कारण आत्महत्या दुरुत्साहन भएको हुनसक्ने आशंका गर्दै त्यसको छानबिन गर्न माग गरिएको हो । ‘डोजर अभियानका क्रममा पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको प्रारम्भिक जानकारीका आधारमा घटना भएको देखिन्छ,’ निवेदनमा उल्लेख छ ।
निवेदनमा मुलुकी अपराध संहिता, २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) अनुसार सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्न माग गरिएको छ ।
प्रवक्ता शाहले आफ्नो स्थायी ठेगाना अछामको चौरपाटी गाउँपालिका–४ उल्लेख गर्दै सम्पर्क विवरणसहित निवेदन पेस गरेका हुन् ।
हालै सरकारले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनाएको छ । यस क्रममा भएका घटनापछि विस्थापित समुदायमा त्रास फैलिएको र मानसिक स्वास्थ्यसम्बन्धी बहस चर्किएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया