शेखर गोल्छालाई हिरासतमा राख्न अदालतको अस्वीकार, अनुसन्धान अब रिहा अवस्थामै अघि बढ्ने

42 Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौं ले उद्योगी शेखर गोल्छा लाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ।

न्यायाधीश मोना सिंह को इजलासले यसअघि जारी पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएसँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई हिरासतमुक्त गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

अदालतको आदेशमा भनिएको छ, “प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम म्याद थप गर्न मिलेन।”

यसअघि सर्वोच्च अदालत ले पनि धरौटी वा जमानतको विकल्प हुँदाहुँदै थुनामा राखेर अनुसन्धान किन गरिएको भनी प्रश्न उठाएको थियो। तर बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै सर्वोच्चले सो विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको थियो।

सर्वोच्चको आदेशपछि पनि सीआईबीले गोल्छालाई तत्काल रिहा नगरी धितोपत्र कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको थियो। तर सोही विषयमा म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो।

यससँगै अब शेखर गोल्छामाथिको अनुसन्धान हिरासतबाहिरै बसेर अघि बढ्ने भएको छ।