जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार संकटमा कांग्रेस बाहेकको सरकार बनाउने अन्य दलको तयारी

24 Shares

काठमाडाैं । मधेश प्रदेशको सरकार संकटमा परेको छ । सत्तारुढ दल जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार विघटन उन्मुख बनेको हो । जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको समर्थन फिर्ता सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको हाे ।

पार्टीले कांग्रेस नेतृत्वमा रहेको सरकारले दलहरुको समन्वयमा काम नगरेको, सरकारले लिएको लक्ष्य अनुसार विकास निर्माणका कामहरु अगाडि नबढाएको, नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको जनाएको छ ।

मधेश प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य छन् । हाल सोही पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी छ । पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा रहेका छन् । यसअघि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेको थियो ।

जेनजी आन्दोलनको क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमा उल्लेख गरेपनि राजीनामा नदिएपछि जनमतले आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकारमा सहभागी भएको थियो । प्रदेशमा कांग्रेस बाहेकका दलहरुले नयाँ सरकार गठनकाे बारेमा तयारी थालेको जनाइएकाे छ ।