वास्तविक सुकुम्वासीलाई सम्पर्कमा आउन आह्वान

12 Shares

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सहायता आवश्यक भएका तथा सडकमा अलमल परेका नागरिकहरूलाई दशरथ रंगशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा सम्पर्क गर्न आह्वान गरेको हो ।

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको भन्दै मन्त्रालयले होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको जनाएको छ ।

वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण आफ्नो व्यवस्थापन गर्न असमर्थ नागरिकहरुलाई सरकारले उपलब्ध गराएको सेवा सुविधाको लाभ लिन भनिएको छ । विस्थापित र अलपत्र नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।