काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता दमन पाख्रेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताएका हुन् ।
उनले नेपाली काँग्रेसको लेगेसी दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्र जस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा अडिएको उल्लेख गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको स्पष्ट पारे ।
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका काँग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए । पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा उनको जोड थियो । सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए ।
सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान सङ्कट र प्रदेशका प्राथमिकताहरूका बारेमा पार्टीले ठोस संवाद गर्ने उनको भनाइ थियो ।
सभापति थापाले भने ‘पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक (विजडम) नष्ट गर्छ । यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कुनैपनि व्यक्तिले एक सुका पनि तलमाथि गरेको कुरा स्वीकार्य हुँदैन । सुशासनका सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ । घरभित्रका साथीहरूलाई मात्र होइन, काँग्रेस बाहिर रहेको ठुलो जमात र नयाँ पुस्तालाई पनि पार्टीमा जोड्नु पर्नेछ । ८० वर्षका वृद्धदेखि २५–३० वर्षका युवाहरूसम्मलाई उचित स्थान दिएर काँग्रेसलाई सबै जाति, समुदाय र उमेर समूहको साझा पार्टी बनाउनु हाम्रो प्राथमिकता हो ।’
पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए । विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने सभापति थापाले प्रतिबद्धता व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया