काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले पुनर्स्थापनाको आधारबिनै बल प्रयोग गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा पछिल्लो समय सुकुम्बासी बस्तीहरू डोजर प्रयोग गरी हटाइएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो कदमले नागरिकको आत्मसम्मान र राज्यप्रतिको विश्वासमा आघात पुगेको बताएका हुन् ।
‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ,’ थापाले भने, ‘सस्तो लोकप्रियताका लागि गरिएको यस्तो निर्मम प्रहारले सडक त खाली गराउला, तर लोकतन्त्रको जग कमजोर बनाउँछ ।’
थापाले सुकुम्बासी समस्या दशकौँदेखिको संरचनागत विभेदसँग जोडिएको विषय भएको उल्लेख गर्दै रहरले कोही पनि सुकुम्बासी नहुने बताए । उनका अनुसार विकासको असन्तुलित ढाँचाले ग्रामीण क्षेत्रबाट सहरमा बसाइँसराइ बढाएको र त्यसले भूमिहीनताको समस्या गहिरिएको हो ।
संविधानले ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र ‘आवासको हक’ सुनिश्चित गरेको स्मरण गराउँदै उनले वास्तविक सुकुम्बासीलाई पहिचान गरी पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भूमिहीन दलित र आवासविहीन नागरिकलाई बसोबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको उल्लेख गरे ।
थापाले नक्कली सुकुम्बासीलाई कानुनी दायरामा ल्याउनुपर्ने तर वास्तविक भूमिहीनलाई धम्क्याएर हटाउने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरे ।
‘नदी किनार खाली गर्नैपर्छ, तर डोजरले होइन, कानुनको प्रक्रिया अपनाएर,’ उनले भने, ‘पहिचान र वैकल्पिक व्यवस्था बिना बलपूर्वक हटाउनु लोकतन्त्रको उपहास हो ।’
उनले कानुनमार्फत समाधान सम्भव हुँदाहुँदै सरकारले ‘डोजरको बाटो’ रोजेकोप्रति प्रश्न उठाउँदै राज्यले ‘रुल अफ ल’ (कानुनको शासन) को मार्ग अपनाउनुपर्नेमा जोड दिए ।
‘राज्यको शक्ति डोजरमा होइन, न्यायपूर्ण कानुन कार्यान्वयनमा देखिनुपर्छ,’ थापाले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया