काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेशहरू हाल अध्ययनको क्रममा रहेका छन्। ती अध्यादेशहरू शितलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पेश भइसकेका छन्।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाएका थिए। तर, त्यसपछि सरकारले वैशाख १० गते पुनः अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि अधिवेशन रोकिएको थियो।
सरकारले प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गर्दै संवैधानिक परिषद्मार्फत नियुक्ति प्रक्रिया अघि बढाउन अध्यादेशको बाटो रोजेको देखिन्छ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ सदस्य रहने व्यवस्था छ।
यसैबीच, नेपाली कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरिसकेको छ। कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बे लाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया