काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताउनुभएको छ ।
मदन भण्डरीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जबजले नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित र सशक्त ढंगले अघि बढाएको जिकिर गर्नुभएको हो ।
आफ्ना पति मदनलाई दूरदृष्टि भएको नेताको रुपमा स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले राजनीतिक तथा वैचारिक हिसावले जीवन्तता पाएको दावी समेत गर्नुभयो । उहाँले मदन भण्डारीको दर्शनलाई एमालेले सबै कमिटीहरुमार्फत देशव्यापी रुपमा अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।
मुलुकको समृद्धि र राष्ट्रिय एकताको लागि पनि एमालेले सो विचारलाई सबै कमिटीमार्फत अघि बढाउन आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
उहाँले भन्नुभयो,‘म उहाँलाई स्मरण गर्न चाहन्छु कि उहाँलाई हामीले भौतिक रुपमा गुमाएको करिव ३० वर्ष बढि भईसकेको छ । तर पनि भावनात्मक रुपमा आत्मीय हिसावले बैचारिक हिसावले र राजनीतिक हिसावले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनुभएको छ । नेपाली समाजमा उहाँ जीवन्त हुनुहुन्छ । उहाँ एउटा राष्ट्रवादी नेता हो । र, दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिष्ट आन्दोलन एक ढंगले संगठित र सशक्त ढंगले अघि बढेको छ भन्ने कुरा पनि म यहाँहरुलाई राख्न चाहन्छु । आज राखेको जुन विषय छ । अलि भेग नै जस्तो देखिन्छ । बहुदलीय प्रणाली त्यहाँ बहुदलीय जनवाद भनिएको छैन । सामाजिक सदभाव र राष्ट्रिय एकता फेरी सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भनेर निकै भेगको विषय छ । संसारमा धेरै दर्शन चलेका छन । धेरै देशहरुले विभिन्न दर्शनहरुलाई अनुशरण गरिरहेका बेलामा मलाई लाग्छ, यो व्यवस्थापन समितिले पनि जनताको बहुदलीय जनवादमा आधारित रहेर सन्दर्भ जननेताको जन्मजयन्ति रह्यो । जबजकै आधारमा सामाजिक एकता, सदभाव र राष्ट्र निर्माण समग्र एउटा कुरालाई हेरेर विषय बनाएर प्रश्तोतालाई विषय दिएजस्तो मलाई लाग्छ । त्यसैले विषय अहिलेको समसामयिक सन्दर्भमा निकै महत्वपूर्ण छ । आज देश जुन गतिमा गईरहेको छ । हामीले यी विषयहरुलाई हेरेर अब राम्रोसँग अध्ययन गरेर हाम्रो देशको आवश्यक्ता अनुसार हामी अघि बढ्नुपर्ने हुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक्तालाई सम्बोधन हुने गरी जवजलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया