पेट्रोलियमको मूल्यवृद्धि र सुकुम्बासी समस्यामा सरकारलाई कांग्रेसले गरायो ध्यानाकर्षण

29 Shares

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली मूल्यवृद्धि भएकाे भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य नागरिकको चुलो र दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको बताएका छन्।

बजारमा रहेका कृत्रिम अभाव र मूल्यवृद्धिलाई कडाइका साथ अनुगमन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रवक्ता चालिसेले भदौ २३ र २४ गते भएको जनधनको क्षतिको सन्दर्भमा सरकारको मौनतामाथि प्रश्न उठाएका छन् । जनतालाई विश्वास लाग्ने गरी अनुसन्धान समिति बनाउन बारम्बार माग गरिरहेको स्पष्ट पारे ।

सुकुम्बासी समस्याको समाधानबारे बोल्दै चालिसेले कुनैपनि नागरिक बेघर हुन नहुने बताए । संविधानले प्रदत्त गरेको गाँसबास, खाद्य सुरक्षा र रोजगारीको अधिकार संरक्षण गर्नु सरकारको अभिभावकीय दायित्व भएको उनको तर्क छ ।

यद्यपि, गैरकानूनी र अतिक्रमित क्षेत्रबारे सरकारको आफ्नै क्षेत्राधिकार भएपनि जनताको आधारभूत स्वतन्त्रता र अधिकारको रक्षा हुनुपर्नेमा उनले जोड दिएका छन् ।