एमालेले माग्याे गृहमन्त्रीको राजीनामा, निष्पक्ष छानबिनका लागि दबाब

10 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

सम्पत्ति विवरणमा सेयर कारोबार लुकाएको र विवादास्पद व्यापारीसँग साँठगाँठ रहेको आरोपपछि गृहमन्त्री गुरुङमाथि आलोचना चुलिँदै गएपछि एमालेले औपचारिक रूपमा प्रतिक्रिया दिएको हो ।

पार्टीले सार्वजनिक प्रकरणले केवल आशंका मात्र नभई विगतका सम्भावित अनियमितता र विसंगतिका विषयहरू पनि उजागर हुन सक्ने संकेत गरेको बताएको छ ।

एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरिएको छ । ‘अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राख्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एमालेले उच्चस्तरीय छानबिन संयन्त्र गठन गरी गृहमन्त्रीसँग सम्बन्धित सबै विषयको तत्काल अनुसन्धान अघि बढाउन माग गरेको छ । साथै, गृहमन्त्री स्वयंले अनुसन्धान प्रक्रियालाई सहज र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएको छ ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सरोकारवालाहरूबीच चासो र बहस बढ्दै गएको एमालेले जनाएको छ । उक्त प्रकरणले आगामी दिनमा थप राजनीतिक तथा सार्वजनिक बहस निम्त्याउने संकेतसमेत गरेको एमालेले जनाएकाे छ ।