काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ ।
निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपत्यकामा रहेका सांसदहरुलाई उपत्यका नछाड्न र बाहिर भएकाहरुलाई साेमबारसम्म आइपुग्न सन्देश पठाइएको छ ।
यसैबीच, कांग्रेस सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल सुरु गर्ने जनाउनुभएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो ।
पार्टीमा देखिएको बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले जानकारी दिनुभएको छ । सभापति थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आह्वान पनि गर्नुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया