शेयर बजारमा नयाँ नियम: अब एकैदिन १५%सम्म घटबढ, सोमबारदेखि लागू

41 Shares

काठमाडौं। नेपाली शेयर बजारमा अब एकैदिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन सक्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेञ्ज ले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

सोमबारदेखि लागू हुने नयाँ नियमअनुसार सूचीकृत कम्पनीहरूको शेयर मूल्य अब एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यस्तो सीमा १० प्रतिशत मात्र थियो।

नेप्सेका अनुसार बजारलाई थप चलायमान बनाउने र मूल्य निर्धारणलाई यथार्थपरक बनाउन सीमा बढाइएको हो। साथै, प्रि–ओपन सेसनको मूल्य सीमालाई २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याइएको छ, जसले बजार खुल्ने बेला हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सर्किट ब्रेकर प्रणाली पनि सरलीकृत गरिएको छ। अब तीन तहको सट्टा दुई तह मात्र रहनेछ—कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशत परिवर्तन भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि ४/५ र ६ प्रतिशतका तीन तहको व्यवस्था थियो।

सरकारले नयाँ व्यवस्थाले बजारमा अवरोध कम भई कारोबार सहज हुने दाबी गरेको छ। साथै, नेपाल धितोपत्र बोर्ड ले आईपीओ प्रक्रियालाई थप पारदर्शी बनाउन नयाँ मापदण्ड पनि लागू गरेको छ। अब आईपीओमा जाने कम्पनीहरूको वित्तीय अवस्था लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गरिनेछ।

तर, केही विज्ञहरूले सर्किट ब्रेकरको सीमा बढाउँदा बजारमा अस्थिरता बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।