काठमाडौं । संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा बोल्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् । ‘३८ जना माननीयमध्ये २४,२५ जनाले बोल्नुभयो । सबैजनाले संसदीय दलको नेता चयनमा ढिलो भएको भन्ने गुनासो राख्नुभयो । र यसमा सहमतिपूर्ण ढंगले निष्कर्ष निकालौँ भन्ने सबैको मत थियो’ उनले भने ।
उनले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिए । सबै सांसदले नेतृत्वमा दाबी गर्नसक्ने भएपनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उनको मत छ ।
उनले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताए । ‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । त्यसकारण सबै सांसदको दलको नेता हुने दाबी पुग्छ । त्यसका सबै साथिहरुको दाबीलाई सँगसँगै राखेर सहमति गरौँ भन्ने दाबी भएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई चाँडो टुंग्याउने भन्ने विषयमा नै आजको छलफल केन्द्रित रह्यो । अब भोलि शनिवार नै भयो । अर्को हप्ताभित्रमा हामी यसलाई टुंग्याउँछौँ’ उनले भने ।
सहमतिमार्फत दलको नेतामा सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया