काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल ले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदस्यहरूको क्षमता पहिचान गरी उचित जिम्मेवारी दिने लक्ष्यसहित डिजिटल नवीकरण प्रक्रिया अघि बढाइएको जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार अब पार्टी प्रविधिमार्फत सदस्यको विवरण—जस्तै सदस्यता लिएको मिति, क्षमता र उपयुक्त जिम्मेवारी—बारे स्पष्ट जानकारी राख्न सक्षम हुनेछ। उनले सदस्यता अद्यावधिकका क्रममा पुराना सदस्यहरूको अभिलेख हटाइने भन्ने हल्ला सत्य नभएको पनि स्पष्ट पारे।
उनले भने, “डिजिटल युगमा काँग्रेसका सदस्यलाई पार्टीसँग डिजिटल रूपमा जोड्ने प्रयास भइरहेको हो। सदस्यको फोन नम्बर र अन्य विवरण भएमा आपसी समन्वय सहज हुन्छ। पुराना अभिलेख हटाउने होइन, बरु व्यवस्थित र सुरक्षित गर्ने उद्देश्य हो।”
पार्टीभित्र एकता र अनुशासनको आवश्यकता औंल्याउँदै उनले हालको राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए। निर्वाचनपछि पार्टी केही कमजोर देखिएको भन्दै अहिले एकताको झन् बढी आवश्यकता रहेको उनको भनाइ थियो।
आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र निष्पक्ष रूपमा सम्पन्न गर्न नेतृत्व तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए। साथै, सदस्यता अद्यावधिक, पार्टी क्यालेन्डर कार्यान्वयन र अधिवेशन सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोग गर्न अपिल गरेका छन्।
अग्रज नेताहरूलाई अभिभावकको रूपमा सम्मान गर्दै उनीहरूको अनुभवलाई संगठन सुदृढीकरणमा उपयोग गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया