काठमाडौं । नेपाली नयाँ वर्षको आगमनसँगै भक्तपुर क्षेत्रमा मनाइने ऐतिहासिक बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा ‘सिन्दुर जात्रा’ उत्साहका साथ मनाइएको छ।
विशेषगरी मध्यपुर थिमी मा आयोजना हुने यस जात्राले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको सन्देशसमेत प्रवाह गर्छ। ३२ वटा देवीदेवताका खतहरू नगर परिक्रमा गराउँदै सिन्दुरको वर्षा गरिने यो परम्परा नेवार समुदायको जीवन्त संस्कृतिको उत्कृष्ट उदाहरण मानिन्छ।
जात्राका क्रममा सम्पूर्ण वातावरण सिन्दुरले राताम्मे बनेको देखिन्छ। स्थानीय बासिन्दाहरू परम्परागत पोशाकमा सजिएर अनुहारभरि सिन्दुर दलेका हुन्छन् भने धिमे र भुष्या जस्ता मौलिक बाजाको तालमा नाचगान गर्दै उत्सव मनाइरहेका हुन्छन्।
कतै भक्तजनहरूले देवताका खत (पालकी) काँधमा बोकेर गल्ली–गल्ली घुमाइरहेका हुन्छन् भने कतै मशाल र ध्वजापताका बोकेर जात्राको रौनकता थपिएको देखिन्छ। बालबालिकादेखि वृद्धसम्मको सक्रिय सहभागिताले यो पर्व सबै पुस्ताका लागि उत्तिकै महत्वपूर्ण रहेको स्पष्ट हुन्छ।
‘सिन्दुर जात्रा’ केवल एक सांस्कृतिक उत्सव मात्र नभई नेपाली समाजको पहिचान र पुर्खाले सुम्पिएको अमूल्य सम्पदा पनि हो। यस्ता पर्वहरूले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
यसैले, यस्ता गौरवशाली र जीवन्त सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया