काठमाडाैं । नेपाली कांग्रेस ले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ।
दलको नेता चयनका लागि कांग्रेसले वैशाख २ गतेदेखि प्रक्रिया सुरु गर्ने जनाएको छ। प्रतिनिधि सभाको दोस्रो ठूलो तथा मुख्य विपक्षी दलको नेता चयन हुन नसक्दा संवैधानिक परिषद् गठन हुन सकेको छैन। कांग्रेसबाट चयन हुने दलका नेता परिषद्को सदस्य रहने व्यवस्था छ।
संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायतले दाबी गरेका छन्।
कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत ३८ जना सांसद निर्वाचित भएका छन्। पुराना नेताबीच प्रतिस्पर्धा भइरहेका बेला युवा सांसदहरू योगेश गौचन थकाली, निश्कल राई र बासना थापा मध्ये एकलाई अघि सार्नुपर्ने दबाब पनि देखिएको छ।
दलका प्रमुख आकांक्षीमध्ये एक अर्जुननरसिंह केसी ले सर्वसम्मतिबाटै नेता चयन हुनुपर्ने बताउँदै आउनुभएको छ। उहाँले या त वरिष्ठ नेता वा सबैभन्दा युवा सांसदलाई नेतृत्व दिनुपर्ने सुझावसमेत दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया