काठमाडौँ । प्रतिनिधिसभा का सांसद परशुराम तामाङ ले विभिन्न जाति–समुदायबीच मेलमिलाप र एकता प्रवर्द्धन गर्न इतिहासका त्रुटिहरू सच्याउन सरकारसँग आग्रह गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलित समुदायप्रति सरकारले क्षमा माग्नु सकारात्मक कदम भएको उल्लेख गर्दै आदिवासी समुदाय अझै पनि विभेद र उत्पीडनबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएका छन्।
उनले गोर्खा राज्यकालदेखि नै आदिवासी समुदायले स्वशासन, पुर्खौली भूमि, भाषा, धर्म र संस्कृतिमा हस्तक्षेप र विभेद सहनुपरेको उल्लेख गरे। राज्यसत्ताबाट बञ्चित गरिनुका साथै विभेदकारी कानुनमार्फत मानव अधिकारसमेत हनन गरिएको उनले बताए।
सांसद तामाङले अझै पनि त्यही ऐतिहासिक अन्यायको प्रभाव कायम रहेको उल्लेख गर्दै सरकारलाई राज्यका तर्फबाट विगतका त्रुटि सच्याएर सबै जाति–समुदायबीच मेलमिलाप र एकता सुदृढ गर्न पहल गर्न आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया