पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव पूर्ण स्वस्थ हुन सक्दैन: स्वास्थ्यमन्त्री मेहता

15 Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभयो। उहाँले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीच आपसी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उहाँले मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण पछिल्लो समय नयाँ स्वास्थ्य चुनौतीहरू थपिएको बताउनुभयो।

रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याउने क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता नसर्ने रोगको जोखिम बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। मन्त्री मेहताले नागरिकलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न आग्रह गर्नुभयो। साथै जनचेतना फैलाउन सञ्चारकर्मी, संघसंस्था र सरोकारवाला निकायलाई सहकार्य गर्न आह्वान गर्नुभयो।

यस वर्ष विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ।