काठमाडौंमा प्रधानमन्त्री सुशिला कार्की ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
बुधबार निर्वाचन आयोग ले आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु ठूलो सफलता भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार रामचन्द्र पौडेल ले तोकेको समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्दै संवैधानिक प्रणाली सुदृढ गरिएको छ। उनले निर्वाचनले लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको सुरुआत गरेको बताइन्।
उनले सरकार गठन हुँदा देशको सुरक्षा अवस्था संवेदनशील रहेको, राजनीतिक दलहरूबीच संवादहीनता र कानूनी–राजनीतिक शून्यता रहेको स्मरण गर्दै यस्तो परिस्थितिमा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि सफल भएको बताइन्।
प्रधानमन्त्रीले रामप्रसाद भण्डारी को नेतृत्वमा निर्वाचन आयोगले स्पष्ट कार्ययोजना र दक्षताका साथ काम गर्दा सफलता हासिल भएको धारणा व्यक्त गरिन्।
उनका अनुसार यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको छ। मतदाता नामावली संकलन, राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक आवद्धता, सामग्रीको पुनःप्रयोग र स्वदेशी सामग्रीको प्रयोगमार्फत खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रस्तुत गरिएको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले आचारसंहिताको कडा निगरानी र सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उल्लेख गरिन्।
उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गर्दै यसले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको बताइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया