अर्थ मन्त्रालय बजेट तयारी तीव्र : नयाँ सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्र केन्द्रमा

21 Shares

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी रहँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीव्र बनाएको छ ।

यस पटकको बजेट नयाँ बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारको आर्थिक नीति तथा सत्ता समीकरणको प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा केन्द्रित हुने संकेत देखिएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार हाल नयाँ सरकार गठन र नयाँ अर्थमन्त्रीको प्रतीक्षामा काम अघि बढिरहेको छ ।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय ले आगामी बजेटमा सत्तामा रहने रास्वपाको वाचापत्रलाई विशेष प्राथमिकता दिइने बताएका छन् । निर्वाचनअघि कर्णाली प्रदेशको सुर्खेतबाट सार्वजनिक गरिएको वाचापत्रमा प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकासको खाका प्रस्तुत गरिएको थियो ।

रास्वपाले सुशासन र नीतिगत सुधारलाई प्राथमिक आधार मानेको छ भने आर्थिक वृद्धि, वैदेशिक लगानी, ऊर्जा, सूचना प्रविधि र कर प्रणालीमा व्यापक सुधारका एजेण्डा अघि सारेको छ । पार्टीले नेपाललाई ‘मध्यम आय भएको मुलुक’ बनाउने लक्ष्यसहित आगामी पाँच वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

यसैगरी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउने र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई १ सय अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य पनि वाचापत्रमा उल्लेख गरिएको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ । सोही समयसीमालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले प्राविधिक तथा प्रक्रियागत तयारीलाई तीव्रता दिएको जनाएको छ ।