नयाँ सांसदको शपथका लागि बहुउद्देश्यीय हल तयार, अस्थायी रूपमा संसद सञ्चालन हुने

116 Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण र बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयले निर्माणाधीन संसद परिसरस्थित बहुउद्देश्यीय हल तयार पारेको छ।

संघीय संसद सचिवालय ले चैत १२ गते हुने शपथग्रहण कार्यक्रमलाई लक्षित गर्दै हल व्यवस्थापनको काम सम्पन्न गरेको जनाएको छ। स्थायी सभाकक्ष समयमै निर्माण हुन नसकेपछि सोही हललाई अस्थायी रूपमा संसद बैठक सञ्चालनका लागि तयार गरिएको हो।

सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरी का अनुसार अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छन्। सभाकक्षका सिटहरूमा माइक्रोफोन जडानको काम भइरहेको र बुधबारसम्म पूरा हुने उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार दुई सिटमा एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ भने सुरक्षा व्यवस्थापनका अधिकांश कामहरू पनि सम्पन्न भइसकेका छन्। साथै, कार्य परामर्श व्यवस्थापन समितिको बैठकका लागि छुट्टै हल पनि सोही परिसरमा तयार पारिँदैछ।

सभामुखका लागि हलको पछाडितर्फ छुट्टै कोठा व्यवस्थापन गरिएको छ। स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधिसभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने जनाइएको छ।