नेप्से २९६० अंकमा, ८ महिनाकै उच्च विन्दुमा बजार

45 Shares

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से करिब ८ महिनाकै उच्च विन्दुमा पुगेको छ।

आज नेप्से २३.८३ अंकले बढ्दै २९६० अंकमा पुगेको हो, जुन गत साउन १३ गतेयताकै उच्च स्तर हो। तर कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडमा सीमित भयो।

आजको बजारमा १३६ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे।

सेक्टरगत रूपमा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढ्यो। यस समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी को मूल्य ९.९१ प्रतिशतले बढेपछि व्यापार समूहमा ठूलो वृद्धि देखिएको हो।

अन्य समूहमध्ये बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ र उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशतले बढे।

त्यस्तै, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका केही समूहमा भने सामान्य गिरावट देखिएको छ।

आज १० प्रतिशतले मूल्य बढेका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

अर्कोतर्फ, फर्स्ट माइक्रोफाइनान्स को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्समा पनि गिरावट देखिएको छ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट रहेका छन्।