जेन–जी आन्दोलन प्रतिवेदन तत्काल सार्वजनिक गर्न थापाको माग

140 Shares

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका हुन्। उनले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने बताए।

थापाले घटनाको निष्पक्ष छानबिन, सत्य अन्वेषण र न्याय निरुपण आवश्यक रहेको उल्लेख गर्दै दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिए। गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक हुनुपर्ने भए पनि ढिलाइ भएको उनको भनाइ थियो।

उनले भने, “भदौ २३ गते राज्यशक्तिको चरम दुरुपयोग र भदौ २४ गतेको हिंसा तथा सम्पत्तिको क्षतिसहितका घटनामा गम्भीर मानव अधिकार उल्लंघन भएको छ। यसको निष्पक्ष छानबिन र न्याय सुनिश्चित हुनुपर्छ। प्रतिवेदन तत्काल सार्वजनिक होस् र कार्यान्वयन पनि होस्।”

थापाले राज्यशक्तिको दुरुपयोग तथा हिंसामा संलग्नमाथि कारबाही नगरे मुलुकले पुनः त्यस्तै अवस्था भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।